गोजमुमोले सिप्सुमा पालन गर्यौ बलिदान दिवस ...
२०११ मा सिप्सुमा शहीद बनेका बिमला राई, बिक्की लामा अनि नीता खवासको आज ११ औं पूण्यतीथि। ८ फरवरीकै दिन सिप्सु गोलीकाण्डमा गोली लागेर सिकिस्त बनेकी नीता खवासले ११ फरवरीको दिन आफ्नो प्राण त्यागेकी थिईन्। यद्यपि गोर्खा जनमुक्ति मोर्चाले ती सबै शहीदहरुलाई स्मरण गर्दै ८ फरवरीकै दिन बलिदान दिवस मनाउँदै आएको छ।
यस पूणित अवसरमा आज सिप्सुमा गोर्खा जनमुक्ति मोर्चाले ती शहीदहरु साथै गोर्खाल्याण्डको निम्ति प्राणोत्सर्ग गर्ने सम्पूर्ण शहीदहरुलाई स्मरण गर्दै ११ औं पूण्यतीथि पालन गऱ्यो।
आफ्नो व्यस्ततालाई पर पन्साएर स्वयं अध्यक्ष बिमल गुरुङ ती शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न सिप्सु आई पुगेका थिए भने सर्वप्रथम उनले बिमला र बिक्की शहीद भएका ठाउँमा उभिएर मौन धारण गरी बिधीपूर्वक श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि शहीद बेदीमा पुगेर बेदीमा धुप द्विप जलाई खदा अनि श्रद्धा सुमन अर्पण गरेर उनीहरूको आत्म शान्तिको कामना गरे।
यस वर्ष कोविद प्रोटोकललाई ध्यानमा राख्दै त्यति भव्य रुपमा बलिदान दिवस पालन गर्न नसकेको भएपनि नजिक नजिकका गोजमुमो प्रतिनिधि, कार्यकर्ता अनि जातिप्रेमीहरु भेला भएर शहीदहरुलाई स्मरण गरेका थिए। यस अवसरमा शहीद अकबर लामा अनि शहीद विक्की लामाको परिवार पनि उपस्थित रहेको थियो भने आयोजक समिति द्वारा ती शहीद परिवारहरुलाई खदा अर्पण गरी सम्मान जनाएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष बिमल गुरुङले २०११ को त्यस घटनालाई स्मरण गर्दै शहीदहरुको बलिदान खेरो जान नदिने आफ्नो अडान दोहोराए। त्यसताक माकपा सरकारले गरेको अन्यायपूर्ण दमनको प्रतिफलस्वरुप सिप्सु गोलीकाण्डमा हाम्रो छोरा छोरीहरूले प्राणको आहुति दिनु परेको भन्दै ती शहीदहरुको बलिदानले गर्दा पाएको कुर्सीमा बस्नेहरुले बिस्तारै बिस्तारै ती शहीदहरुलाई नै बिर्सँदै गई रहेको पनि उनले बताए।
कार्यक्रममा कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा पनि उपस्थित रहेको थिए भने उनले पनि आफ्नो सम्बोधनमा हामी गोर्खाल्याण्ड माग्ने पार्टी हौ, सबैले गोर्खाल्याण्डको लागी कुर्सी छोड्नु पर्छ भन्दा हामीले जीटीए त्यागी दियौं तर जीटीएको कुर्सीमा राल चुवाएर बस्ने हाम्रै साथीहरुले शहीदहरुलाई धोका दिएर कुर्सीमा बसे, पैसा कमाए। तिनीहरूले आज मर्यादा, जाति, पार्टी सबै बेचेर धन सम्पत्ति र चौकी खोजी रहेको बताए।
फुर्वा शेर्पा द्वारा सञ्चालित अनि सह-सचिव शिव सुनारले स्वागत भाषण राखेको कार्यक्रममा गोरुबथान महकुमा सचिव चन्द्र योञ्जन, कोषाध्यक्ष जुरन राई, प्रवक्ता बासु राई, केन्द्रीय सह-सचिव अनिल लोप्चन, मधुकर थापा, लिला कुमार गुरुङ, केन्द्रीय सदस्य सोनाम याखा, रोहित थापा, ह्युमन राइट्स सेलकी रिशिका छेत्री, नारी मोर्चा केन्द्रीय सदस्य कविता गुरुङ, लगायत सुरेश देवान, उत्तम खवासलगायत पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए।
8637816394/ 9733161396.