जीटीए अध्यक्ष अनित थापा अनि गोजमुमो अध्यक्ष विनय तामाङको तराई क्षेत्र भ्रमण ...
जीटीए अध्यक्ष अनित थापा,गोजमुमो अध्यक्ष विनय तामाङ खरसाङ महकुमा अन्तर्गत तराई क्षेत्रमा रहेका विभिन्न कोरेण्टाइन सेन्टरहरूको परिभ्रमण गर्न अनि त्यहाँको स्थितिबारे जानकारी लिन साथै कोरेण्टाइन सेन्टरहरूलाई खाद्य सामाग्री अनि मास्क,सेनिटाइजर आदि वितरण गर्न पुगे। तिनीहरूसितै त्यहाँ गोजमुमो केन्द्रिय समिति सदस्य बिन्द्र कुमार प्रधान,सन्तोष लामा,सिलगढी हेल्प डेस्क प्रभारी बिन्नी शर्मा लगायत अन्यहरू पनि उपस्थित थिए। भ्रमण अवधि तिनीहरूले यहाँको दुधे सार्वजनिक भवनमा अवस्थित कोरेण्टाइन सेन्टरको परिभ्रमण गरे अनि राखिएका बाहिरबाट आएका स्थानीय मानिसहरूसँग भेटघाट गरी तिनीहरूको अवस्था र स्थितिबारे जानकारी लिए तथा तिनीहरूको निम्ति जीटीएको पक्षबाट ल्याइएको आवश्यक खाद्य सामाग्री तथा मास्क,सेनिटाइजर आदि कोरेण्टाइन कमिटीलाई हस्तान्तरण गरे। त्यसपछि तिनीहरू पानीघट्टा हाई स्कूलमा रहेको कोरेण्टाइन सेन्टरमा पुगे। त्यहाँपनि स्थानीय मानिसहरूसँग भेटघाट गरे तथा आवश्यक खाद्य सामाग्रीहरू वितरण गरे। पानीघट्टाका कोरेण्टाइन कमिटी अनि पार्टी प्रतिनिधिहरुसँग भेट गरे औ आवश्यक सहयोग प्रदान गर्ने बताए। त्यहाँबाट जीटीए अध्यक्ष थापा,पार्टी अध्यक्ष विनय तामाङ लगायत अन्य प्रतिनिधिहरू सोझै बेलगाजी हाई स्कूलमा पुगे। जहाँ गत केही दिन अघि बाहिथबाट आएका चौबीसजना मानिसहरूलाई कोरेण्टिन गरिएको छ। तिनीहरूको ताजा स्थितिबारे जानकारी लिँदै तिनीहरूको निम्ति ल्याइएको आवश्यक राहत सामाग्रीहरू वितरण गरे। त्यसपछि तिनीहरू पैसठ्ठी जना मानिसहरूलाई राखिएको निपानिया कोलाबारी नेपाली हाई स्कूलको कोरेण्टाइन सेन्टरमा पुगे अनि त्यहाँ रहेका मानिसहरू तथा स्थानीय प्रतिनिधि टोलीसँग भेटघाट गरी स्थितिको जानकारी लिए। यस अवसरमा जीटीए अध्यक्ष अनित थापाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूहरू कोरेण्टाइन सेन्टर अनि यहाँ बसिरहेका मानिसहरूको ताजा स्थितिको जानकारी लिन अनि तिनीहरूलाई केही सहयोग प्रदान गर्न आएको बताए। तिनले हाल दार्जीलिङमा पहाडी क्षेत्रमा हाल बढिरहेको कोरोना सङ्क्रमणबारे अवगत गराउँदै उनीहरू सबै देशका विभिन्न राज्यहरूमा काम गरिरहेका स्थानीय मानिसहरू रहेको जनाए। जब केन्द्र सरकारले माईग्रेन लेबर तथा विद्यार्थीहरूलाई आ-आफ्नो राज्यमा पठाउने निर्णय लियो त्यसपछि मानिसहरू आफ्ना घर फर्किन थाले। तिनीहरूको सहयोगको निम्ति पश्चिम बंगाल राज्य सरकार अनि जीटीएले आ-आफ्नो पक्षबाट काम गरिरहेछ भन्दै यता पहाड़लाई कोरोनाबाट बचाउँन पहाड़का सबै राजनैतिक दल,गैर सरकारी संस्थाहरू लगायत व्यापारीहरू,सरकारी कर्मचारीहरू,पुलिस प्रशासन,स्वास्थ्यकर्मीहरू लगायत आम मानिसहरूले पनि सक्दो सहयोग गरिरहेका छन् भन्दै अध्यक्ष थापाले अब पनि सबै जुटेर आगामी दिनहरूमा कोरोनासँग लड्ने प्रतिबद्धता लिनुपर्ने विचार व्यक्त गरे। समाजहरुले जसरी कोरेण्टाइन सेन्टरहरू सुचारू र व्यवस्थित तरिकाले सञ्चालन गरिरहेकोमा त्यसको पनि सराहना गरे।पहाड़का च्याम्बर्स अफ कमर्सहरूले जसरी आफ्नो तरिकाले काम गरिरहेका छन् उनीहरूलाई म धन्यवाद दिन्छु भन्दै यस्तै प्रकारले अन्य व्यवसायीहरूले पनि पहाड़लाई बचाउँन सकारात्मक रूपले कार्य गरिदिने आग्रह गरे। तिनी अहिले जसरी ग्राउण्ड जीरोमा रहेर कार्य गरिरहेछन् तर यसलाई लिएर पहाड़का केही राजनीति दलका प्रतिनिधिहरुले उनीप्रति गरेको नकारात्मक टिप्पणीबारे सोध्दा थापाले यसबारे आफ्नो कुनै मन्तव्य नरहेको बताए। यतिबेला राजनीति गर्ने अनि प्रतिक्रिया जनाउने समय नरहेको अवगत गराउँदै जसको मानसिकताले जति भ्यायो त्यत्तिनै बोल्यो भन्दै यतिबेला म लिडर भएर होइन सेवाको भावना लिएर कार्य गरिरहेछु भनी बताए। मैले मेरो राजनीति इतिहासमा आजसम्म कसैलाई नराम्रो भनेको पनि छुइनँ अनि गर्ने पनि छुइनँ भन्दै थापाले यसबारे आफूले केही नभन्ने स्पष्ट रूपले जनाए। तिनले केन्द्र सरकारलाई पहाडको निम्ति कोरोना जाँच केन्द्रको मांग बारम्बार जीटीएको पक्षबाट गरिएको पुनः अवगत गराउँदै यद्यपि आजसम्म पनि यसबारे कुनै पहल नभएकोमा दुःख व्यक्त गरे तर तिनले पहाड़मा अरू थप दुईवटा कोविड अस्पताल निर्माण हुने एउटा सुखद जानकारी पनि दिए। थापाले होटल व्यवसाय सङ्गठनद्वारा पहाड़का होटलहरू खोल्ने सम्बन्धमा आफ्नो विचार व्यक्त गर्दै यसबारे अझ सबैले गम्भीर भएर सोच्ने अनुरोध गर्दै जीटीएको पक्षबाट पनि एउटा दिशा निर्देश तयार पारिरहेको बताए। तिनले सबैको साझा समस्यालाई ध्यानमा राखेर जीटीए अध्यक्षको हैसियतले आफूद्वारा गर्नुपर्ने सबैप्रकारको व्यवस्था र सहयोग गर्न तिनी सँधै तत्पर रहेको जनाए। निपानीमा जीटीए अध्यक्ष थापा अनि पार्टी अध्यक्ष तामाङ लगायत अन्यहरूलाई स्थानीय प्रतिनिधिहरूले यसरी यस क्षेत्रको भ्रमण गर्दै विशेष सहयोग प्रदान गरेकोमा आभार व्यक्त गर्दै खदा लगाएर सम्मान जनाए भने सुकुना पानीघट्टा समष्टि सचिव सीके श्रेष्ठले आभार व्यक्त गरे। तिनले एकजना चालक नियुक्त गरेर जीटीएले एउटा एम्बुलेन्सको व्यवस्था गरिदिने कुरोमा सबै आशावादी रहेको बताए।
Camera/ Report
Subash Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396