भोलेन्टियर शिक्षक भेरिफिकेशनबारे सांसद तथा तृणमूल नेतृ शान्त छेत्रीले के भनिन्.......
आगामी राज्य विधानसभा चुनावमा कालेबुङबाट तृणमूल कांग्रेसले आफ्नै उम्मेदवार उठाउने राज्यसभा सांसद तथा तृणमूल कांग्रेस कालेबुङ जिल्ला प्रभारी शान्त छेत्रीले बताइन्। पार्टीको सांगठानिक कार्यक्रममा सहभागिता जनाउन गोरूबथान आएकी सांसदले यहाँको मालबस्तीस्थित सभामा उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपर्युक्त विचार साझा गरेकी हुन्। एसबी राईको अध्यक्षतामा सम्पन्न दलीय सभालाई सम्बोधन गर्दै मुख्य अतिथि सांसद छेत्रीले पहाडका तीनवटा महकुमाको तुलनामा कालेबुङमा तृणमूल कांग्रेसको धरातल मजबुत रहेको बताइन्। तृणमूल जिल्ला संयोजक सुमन गुरुङलगायत जिल्ला, तीनवटा खण्डका पदाधिकारीहरुको कुशल सांगठानिक कार्यले कालेबुङ जिल्लामा तृणमूल कांग्रेस शाखा स्तरसम्म शक्तिशाली भएको जनाइन्। आजको उपस्थिति यसको प्रमाण रहेको जनाउँदै यही आधारले गर्दा आगामी राज्य विधानसभा चुनावमा कालेबुङबाट तृणमूल कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्ने विचार अघि सारेको मन्तव्य गरिन्। शिक्षा सेल कालेबुङ जिल्ला सदस्य विनोद मोक्तानद्वारा संचालित सभालाई सम्बोधन गर्दै सांसद छेत्रीले पहाडका विभिन्न सरकारी विद्यालयहरुमा भेलेन्टियर शिक्षकहरुको भेरिफिकेसन सही तरिकाले नभएको विषयलाई पनि उठान गरिन्। कहिल्यै स्कुल नगएको व्यक्तिहरुको पनि भेरिफिकेसन गरिएको बताउँदै यस विषयमा जीटीएको चीफ सेक्रेटरीलाई भेटेर अवगत गराइसकेको पनि सम्बोधनमा बताइन्। चीफ सेक्रेटरीले विषयलाई गम्भीरतापूर्वक लिएको तथा यस विषयमा उचित पहल गरिने प्रतिश्रुति दिएको पनि सांसद छेत्रीले जानकारी गराइन्। पार्टी भेलेन्टियर शिक्षकहरुको पक्षमा रहेको तर यस्तो फेक केसको भने डटेर विरोध जनाउने बताइन्। पहाडका विभिन्न सरकारी विद्यालयबाट यस्तो गुनासो, उजुरी आइरहेको अवगत गराउँदै तिनले गोरुबथानका सरकारी विद्यालयहरुको पनि सही तथ्याङ्क जमा गर्न अनुरोध गर्दै जेनुन भोलेन्टियर सूचि लिएर जीटीएको मुख्य सचिवकहाँ जाने थप बताइन्। आमा, माटो अनि मानिसको सरकारले पहाडबासीको निम्ति विकाससितै रोजगारका धेरै अवसरहरु उपलब्ध गराएको जनाउँदै 2017 देखि अहिलेसम्म 11 सयभन्दा धेरै शिक्षकहरु पहाडका विभिन्न सरकारी स्कुलहरुमा नियुक्ति गरेको अवगत गराइन्। सम्बोधनकै क्रममा जनवरी पहिलो साताभित्रमा जीटीए क्षेत्रको निम्ति प्राइमेरी स्कुलको निम्ति शिक्षकको परीक्षा हुने र यस विषयमा बोर्ड चेयरमेनसित कुराकानी भइसकेको बताइन्। यसबाहेक राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पुलिस बलमा गोर्खा रेजिमेन्ट शुरु गरिने घोषणा गरेकोले पहाडका शिक्षित युवाहरुले रोजगारको अवसर प्राप्त गर्ने मन्तव्य गरिन्। सम्बोधनलाई अघि बढाउँदै वन विभागमा भइरहेको नियुक्ति, सिभिक भेलेन्टियर, होमगार्ड नियुक्ति विषयबारे पनि जनाइन्।
विकाश, रोजगार, जनकल्याणकारी सरकारी योजनामाथि पनि बोल्दै मुख्य अतिथि सांसद छेत्रीले वर्षौदेखि कार्यरत पेब्याण्ड कर्मचारीको पक्षमा पनि सकारात्मक काम भइरहेको बताइन्। केही दिनदेखि यस विषयमा कलकत्तामा आफ्नो नेतृत्वमा एक प्रतिनिधि टोलीले सम्बन्धित विभागका मन्त्री, अधिकारीसित भेट गरेर छलफल गरेको अनि कुरा फलदायक रहेको बताइन्। त्यसरी नै सिन्कोना बगान, फरेष्ट भिलेज, चियाबारीलगायत अन्य समस्याबारे पनि विभागीय मन्त्रीहरुसित कुराकानी भइसकेको र कति काम चुनावअघि नै चरणबद्ध रुपमा हुने दाबी गरिन्।
सभालाई सम्बोधन गर्ने क्रममा विशिष्ट अतिथि तथा कालेबुङ जिल्ला संयोजक सुमन गुरुङले पनि जिल्लामा पार्टी मजबुत स्थितिमा रहेको बताए। मानिसहरुले बिस्तारै वास्तविकता बुझ्दै आएकोले पहाडका गाउँ बस्तीका मानिसहरू विकास, रोजगार र सरकारी सहुलियतको निम्ति तृणमूल कांग्रेससित जोडिन थालेको जनाए। तिनले पनि पहाडका विभिन्न सरकारी स्कुलहरुमा भेलेन्टियर शिक्षकहरुको भेरिफिकेसन अधिकांश अबैद्य रहेको बताए। जसलाई पार्टीले विरोध गरेको बताउँदै जेनुन शिक्षकहरुको न्यायको निम्ति भने पार्टी लड्ने बताए। कति स्कुलहरुमा 100 भन्दा धेरैको भेरिफिकेसन गरिएको जसमा केही शिक्षक मात्र जेनुन छन् भन्दै यस्तो रिपोर्टहरु पार्टीलाई आइरहेको बताए। भेरिफिकेसन भयो भन्दैमा अत्तालिने काम छैन। सही व्यक्तिको मात्र नियुक्ति हुने, जुन विषयबारे जीटीए मुख्य सचिवसित कुराकानी भइसकेको तथा फेरि भेटेर छलफल गरिने जनाए।
चियाबारी श्रमिक एकाइका पदाधिकारी दिनेश तामाङको स्वागत सम्बोधनबाट शुरू भएको सभालाई तृणमूल खण्ड सभापति पेमा मोक्तान, युथ खण्ड सभापति राज लामा, सचिव राजु घिमिरे, सिन्कोना प्लान्टेसन केन्द्रीय समिति सभापति सन्तोष खवास, नारी एकाइ 44 नम्बरबाट सम्झना भुजेल आदिले सम्बोधन गरेका थिए।
सभामा पेब्याण्ड अस्थायी कर्मचारी एकाइका सभापति केसी राई, सजिव अधिकारी, पूर्णिमा ओझा, हिमाल राई, रमेश राई, रोशन भुजेल, हेमकुमार राई, विरेन भुजेल, सामुयल भुजेल, निलु राई, छोक्पा भोटियालगायत गोरूबथान खण्डका तीनवटै समष्टिबाट प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
Camera/Edit
Rohan Kulung
8637816394/