कोरोनालाई लिएर गोरूबथानमा जनचेतना कार्यक्रम जारी ...
अहिले विश्व नै कोविड 19 को महामारीबाट ग्रसित छ। यसको भ्याक्सिन तथा औषधि ननिस्किएसम्म यसबाट बाँच्ने उपाय भनेको नै सतर्कता हो। यो भाइरसबाट आफूलाई कसरी जोगाउन सकिन्छ अथवा यदि संक्रमित भए के गर्नुपर्छ भन्ने विषयबारेको जानकारी अहिलेको स्थितिमा प्रत्येक मानिसको निम्ति आवश्यक विषय बनेको छ। हिजोसम्म देशका नगर, शहरहरूमा रहेको कोरोना भाइरस अहिले गाउँ घरतिर प्रवेश गरिसकेको छ। अहिले देशका कुनै पनि राज्य यस महामारीबाट अछुन्न छैन। अनलक एक शुरू भएपछि हजारौ, लाखौका संख्यामा रोजगारीको निम्ति देश विदेश पलायन भएका मानिसहरू गाउँ घर फर्किरहेका छन्। फर्किने क्रममा अनजानमा यस अदृश्य भाइरसको सम्पर्कमा आएर धेरै मानिसहरू गाउँ बस्ती पुगेका छन्। जसले गर्दा अहिले गाउँ घर पनि संक्रमित बन्दै गइरहेको छ। यस महामारीबाट गाउँ बस्तीलाई कसरी बचाउने भन्ने गम्भीर चुनौति हालमा प्रत्येक गाउँअघि आइपरेको छ। यस वैश्विक महामारीको भयबाट गोरूबथान पनि टाढा छैन। अहिले दैनिक रुपमा गोरूबथानमा बाहिर काम गर्न जानेहरू फर्किरहेका छन्। ती व्यक्तिहरू कोही बस, कोही रेल त कोही हवाई मार्गबाट आइरहेका छन्। गोरूबथान 43 नम्बर समष्टिको निम्ति जीटीएद्वारा मनोनित नोडल पर्सन प्रितम चामलिङको नेतृत्वमा रहेको एक कमिटीले बाहिरबाट आउनेहरूलाई गोरूबथान ल्याउने तथा तिनीहरूलाई डाक्टरी जाँचपछि गरिनुपर्ने होम या इन्टिट्युशनल कोरोनटाइनको व्यवस्था गरिरहेको छ। यतिमात्र होइन यस गम्भीर विषयबारे स्थानीय मानिसहरूलाई जानकारी गराउन तथा सचेत गराउने उद्देश्यले विभिन्न गाउँहरूमा सभाहरू आयोजन गरिरहेको छ। सोसियल डिस्टेन्सिङलाई पालन गर्दै सभा आयोजित भइरहेको नोडल पर्सन चामलिङले बताए। चामलिङ अनुसार अहिलेसम्म जोनल दुइको पुबोङ,माङजिङ,लुङसेल, सामाबियोङ, नोवम, अप्पर फागु, नीम बस्ती, कुवापानी, ढिपडाँडा, बाधे,गोदाम टार त्यसरी नै जोनल एकको सोमबारे बजार, मालबस्ती, माल चार आदि रहेका छन् । टोलीमा आफूलगायत गोजमुमो जोनल एक सभापति अजय प्रधान, सचिव रविन प्रधान, दुई सभापति पेमा योञ्जन, सचिव रतन थापा, कोरकमिटी सदस्य ओमप्रकाश कार्की, प्रचार प्रसार सचिव हैदर अली, जीवन प्रधान, दिपक कार्की, सनम थापा, पंचकुमार राई, उदय जोशी,रोहित शर्मा, विशाल परियार, बबरू बहन राणा, प्रेम मुखिया, संजय शर्मा आदि रहेका थिए। टोलीले सभामा गाउँका मानिसहरूलाई कसरी यस भाइरसबाट बाँच्न सकिन्छ भन्ने विषयबारे जानकारी गराए। सम्बोधनको क्रममा तिनीहरूले बाहिरबाट आउनेहरूले पनि क्वारेन्टिनको समय पालन गर्नुपर्ने गाइड लाइनबारे जानकारी दिए। यस क्रममा तिनीहरूले कतिपय क्वारेन्टिन केन्द्रहरूको भ्रमण गरेर सदस्यहरूलाई भेट गरी सुविधा असुविधाबारे जानकारी लिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.