गोरूबथानको अम्बियोक चियाबारीमा एकै किस्तीमा 20 प्रतिशतको दरमा पुजा बोनस वितरण ...
आनन्द गोपाल टी कम्पनीअन्तर्गत रहेको गोरूबथानको अम्बियोक चियाबारीमा एकै किस्तीमा 20 प्रतिशतको दरमा पुजा बोनस वितरण गरियो। पहाडका 87 वटा चियाबारीहरूमा यसपल्ट एकै किस्तीमा 20 प्रतिशतको दरमा बोनस वितरण गर्ने पहिलो चियाबारी अम्बियोक बनेको छ। गत 11 अक्टोबरको दिन कोलकोतामा बसिएको त्रिपक्षीय बैठकमा पुजा बोनस दुइ किस्ती गरेर दिइने तथा पहिलो किस्ती 10 दिनभित्रमा 12 प्रतिशत अनि रहल 8 प्रतिशतको निम्ति नोभेम्बरमा पुन: बैठक गरेर मिति तय गरिने निर्णय लिएको थियो। सोही सम्झौताअनुसार पहाडका चियाबारीहरूमा गत दुइ दिनअघिदेखि 12 प्रतिशतको दरमा पहिलो किस्ती बोनस वितरण गर्ने काम शुरु भएको थियो। तर गोरूबथानको अम्बियोक चियाबारीका मालिक एक कदम अघि बढ्दै चिया श्रमिकहरूलाई दुइ किस्तीको बदला आज एकै किस्तीमा बोनस वितरण गरेर पहाडमा उदाहरण पेश गरेका छन्। चियाबारीका मालिकहरू श्रमिकहितमा पनि रहेका छन् भन्ने प्रमाण अम्बियोक चियाबारीका मालिक तथा प्रबन्धकले देखाएको बताउँदै यसको निम्ति स्थानीय चियाश्रमिकहरूले मालिकसितै चियाबारी प्रबन्धकप्रति आभार प्रकट गरेका छन्। सूत्रअनुसार आज वितरण गरिएको बोनसबाट चियाश्रमिकहरूले अधिकतम 12 हजार अनि स्टाफहरूले 30 हजार रुपियाँ प्राप्त गरेका छन्। स्मरण रहोस् दशैंअघि पुजा बोनस वितरण गर्न नसकिए तापनि आफ्ना चियाबारीका श्रमिकहरूको दशैं अँध्यारोमा नबितोस् भनेर दशैंअघि अम्बियोक चियाबारीका श्रमिकहरूलाई तीन हजार अनि स्टाफहरूलाई पाँच हजार गरेर एडभान्स राशि दिइएको थियो। जुन राशि आज बोनस वितरण गर्दा काटिएको श्रमिकहरूले थप बताएका छन्। एकै किस्तीमा पुजा बोनस प्राप्त गर्नसक्नु श्रमिक एकताको पनि भूमिका रहेको छ। 11 अक्टोबरको बैठकबाट निस्किएको दुइ किस्तीको निर्णयलाई अम्बियोक चियाबारीका श्रमिकहरूले अस्वीकार गर्दै दुइ किस्तीको सट्टा एकै किस्तीमा पुजा बोनस वितरण गर्नुपर्ने मागमा दैनिक गेट मिटिङसितै चियाबारी प्रबन्धक अनि मालिक पक्षमाथि दबाव बनाइराखेका थिए। शान्ति-श्रृंखलाबद्ध रहेर श्रमिकहरूले कामसितै आन्दोलनलाई पनि जारी राखेका थिए। चियाश्रमिकहरूको यसै एक्यबद्ध आन्दोलनको कारण दुइ किस्तीको बदला आज एकै किस्तीमा पुजा बोनस थाप्न सफल भएका छन्। एकताको अघि कसैको केही चल्दैन भन्ने उदाहरण पनि अम्बियोक चियाबारीका श्रमिकहरूले पेश गरेका छन्। चियाबारीमा घाम-पानी केही नभनी वर्षभरि रुझीभिजी परिश्रम गर्ने श्रमिक तथा कर्मचारीहरूको निम्ति पुजा बोनसको महत्व कतिसम्म छ भन्ने कुरा चियाश्रमिकलाई मात्र राम्ररी थाहा छ। पुजाअघि बोनस वितरण नगरिएकोले पहाडका 87 वटा चियाबारीका मानिसहरूले दशैंमा रमाइलो गर्नको सट्टा टारे मात्र। अझ पनि पहाडका कति चियाबारीहरूमा बोनस वितरण गरिएको छैन। आज पनि धेरैवटा चियाबारीहरूमा पुजा बोनसको मागमा दैनिक गेट मीटिङ, धर्ना चलिरहेको छ।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396