गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडको कार्यालय उद्घाटन ...
गोरूबथानका कृषकहरूको हितको निम्ति गठन गरिएको तथा हालैमा पंजीकृत भएको गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडको कार्यालय बिहीवार यहाँको गैरीगाउँ, लोवर आहालेमा विधिवत रूपमा उद्घाटन गरियो। एडीए गोरूबथान मुकेश तामाङको बाहुलीबाट उद्घाटन गरिएको यस कार्यक्रममा कृषक कल्याण संगठन कालेबुङका सभापति विष्णु छेत्री, सिलगढीका चार्टर एकाउण्ट सुजित भट्टचार्य, सेरिकल्चरबाट कमला राई, एटीएम साजन छेत्री, भेटनेरीबाट तुलसी राईलगायत गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडका पदाधिकारी अनि सदस्यहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कृषक कल्याण संगठन कालेबुङका सभापति विष्णु छेत्रीले गोरूबथानका कृषकहरूको कल्याणको निम्ति गठन गरिएको गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडका पदाधिकारीहरूलाई बधाई दिँदै शुभकामना दिए। केन्द्र अनि राज्य सरकारले कृषकहरूको निम्ति धेरै योजनाहरू लागु गरेको भए तापनि जानकारीको अभावमा स्थानीय कृषकहरू सरकारको योजनाको लाभ उठाउनबाट बञ्चित बनिरहेको जनाए। यस्तोमा गोरूबथानका कृषकहरूको निम्ति गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए। कृषकसित सम्बन्धित संगठन गर्नको निम्ति कतिपय विभागीय क्राइटेरियाहरू पूरा गर्नुपर्ने जानकारी गराउँदै छेत्रीले आफ्नो पक्षबाट हुनसक्ने सहसम्भव सहयोग दिने प्रतिश्रुति दिए। कृषकहरूले उत्पादन गर्न मात्र होइन, यसको निम्ति उचित बजार तथा उत्पादको मूल्य पनि पाउऩुपर्ने जनाउँदै यसको निम्ति पनि कार्य गर्नुपर्ने सुझाउ राखे। कृषिको निम्ति जल, जमिन, जंगल, जनवारको महत्वपूर्ण भूमिका रहने भएकोले यसलाई कसरी संरक्षण गरिनुपर्छ भन्ने दिशामा पनि कार्य गर्नुपर्ने बताए। सम्बोधनकै क्रममा एडीए गोरूबथान मुकेश तामाङले गोरूबथान ठूलो क्षेत्र भएकोले आफू एक्लैले विभागीय कार्य गर्न कठिनाइ भइरहेको स्थितिमा गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेड गठन गरेर ठूलो कार्य गरेको मन्तव्य गरे। यस संस्थाले गोरूबथानका कृषकहरूको हितमा कार्य गर्ने विषयमा आफू आश्वस्त रहेको पनि बताए। संस्थालाई विभागीय रूपमा जस्तो सहयोगको खाँचो पर्छ आफू त्यो उपलब्ध गराउन तयार रहेको एडीएले आश्वासन दिए। त्यसरी नै संस्थाका सभापति बल बहादुर छेत्रीले गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेड किन गठन गर्न पर्यो भन्ने विषयमा सविस्तार जानकारी गराए। शुरुवाती चरणमा यसले गोरूबथानको 43 नम्बर समष्टिका विभिन्न गाउँ-बस्तीहरूलाई समेटेर कार्य गरिरहेको तथा आगामी दिनमा 44 र 45 नम्बर समष्टि अर्थात सम्पूर्ण गोरूबथान खण्डलाई नै समेटेर अघि बढ्ने योजना रहेको बताए। कृषकहरूको कल्याणको निम्ति गठन गरिएको संस्थाको कार्यालय उद्घाटन कार्यक्रममा सहभागिता जनाएर कार्यक्रमलाई सफल बनाइदिएकोमा आयोजक पक्षबाट तिनले सबैप्रति आभार प्रकट गरे। कार्यक्रमलाई सिलगढीबाट आएका चार्टर एकाउण्ट सुजित भट्टचार्य, सचिव मंगु छेत्री, तुलसी राई आदिले पनि सम्बोधन गरेका थिए। गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडको कमिटीमा सभापति बल बहादुर छेत्री, उपसभापति निर्मला छेत्री, सचिव मंगु छेत्री, सहसचिव सुशिल छेत्री, कोषाध्यक्ष संगीता छेत्रीलगायत बोर्ड अफ् डाइरेक्टरमा 10 जना सदस्य रहेका छन्।
Camera
Rohan Kulung Rai
Edit
Lenin Rai
8637816394/ 9733161396