गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन कमिटीको सभा ....
हालैमा गठन भएको गोजमुमो गोरूबथान ४३ नम्बर समष्टि कोअर्डिनेशन कमिटीको सभा समष्टि पार्टी कार्यालयमा सम्पन्न भयो। कमिटीका सदस्य तथा जोनल एक सभापति अजय प्रधानको अध्यक्षतामा सम्पन्न सभामा जोनल एक अनि दुइका शाखा पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जोनल एक सचिव रविन प्रधानद्वारा संचालित सभालाई स्वागत सम्बोधन गर्दै जोनल दुइ सभापति तथा कोअर्डिनेशन समिति सदस्य पेमा योञ्जनले सभा राखिनुको उद्देश्यबारे जानकारी गराए। त्यसरी नै अर्का वक्ता तथा कोअर्डिनेशन समिति सदस्य तेन्हाङ राईले विगत राजनीतिको तितो अनुभवहरू साझा गर्दै आफू किन पुन: राजनीतिमा सक्रिय भएर उत्रिनुपर्यो भन्ने विषयमा विचार राखे। सभामा जोनल एक दुइबाट नारी, युवा, विद्यार्थी मोर्चा, दातडुपालेयु, संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन, हिल तराई प्राथमिक पाठशाला शिक्षक संगठनका प्रतिनिधिलगायत ४३ नम्बर समष्टिका ८० वटा शाखासितै बुथ कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।