बीच गाउँमा शिशु आलय भवनको उद्घाटन ...
दालिम जीपीस्थित बीच गाउँ आईसीडीएस केन्द्रलाई शिशु आलयमा परिणत गर्दै यसको नयाँ भवनको उद्घाटन गरियो। मंगलवार एक कार्यक्रमबीच गोरूबथान खण्ड विकाश अधिकारी विश्वरंजन चक्रवर्तीले बीच गाउँ केन्द्रलाई शिशु आलयमा परिणत गरिएको घोषणा गरे। त्यसरी नै सीडीपीओ नर्बट लेप्चाले नानीहरूको थप सवार्ङगिन विकाशको निम्ति राज्य सरकारले आईसीडीएस केन्द्रहरूलाई शिशु आलयमा परिणत गरेको जानकारी गराउँदै शिशु आलयमा नयाँ करिकुलमअनुसार नानीहरूलाई शिक्षा, स्वास्थ्यसितै अन्य विषयमा ज्ञान दिइने बताए।
उपस्थित भेलालाई सम्बोधन गर्दै सीडीपीओ लेप्चाले नानीहरूको स्वास्थ्य अनि पालन पोषण विषयमा पनि केही आधारभूत जानकारी गराए। नयाँ भवनको उद्घाटन बीडीओ, सीडीपीओ अनि जमिन दाता कमल मणि राईका भाइ गुप्त मणि राईको बाहुलीबाट रिबन काटेर गरियो। यस अवसरमा आईसीडीएसका नानीहरूद्वारा कर्म शिक्षाको गीत पनि प्रस्तुत गरिएको थियो। बीच गाउँ शिशु आलय कर्मचारी पुनम राईद्वारा संचालित कार्यक्रममा एएनएम रेनुका राई, पीयुष लेप्चा, सुकदास राई, अगमप्रसाद राई, विकाश प्रधान, गंगा हाङखिम, पन्ना राई, विकाश राई, प्रिया लेप्चा, दिपा भण्डारी, आईसीडीएस केन्द्रका कर्मी तथा सहायकहरूमा आग्नेस लेप्चा, मधु लामा, प्रमिला तामाङ, तनुजा राई, रूद्वती राई, प्रेमकुमारी राई, मालती सुब्बा आदिको विशेष उपस्थिति रहेको थियो।