गोरूबथानका विभिन्न स्थानहरूमा फुलपाती भव्यरूपमा पालन ....
गोरूबथानका विभिन्न स्थानहरूमा फुलपाती भव्यरूपमा पालन गरियो। नेपाली जातिले एकता तथा भाइचाराको रूपमा मनाउँदै आइरहेको फुलपाती कार्यक्रममा गोरूबथानका विभिन्न संघ-संस्था, शैक्षिक प्रतिष्ठानलगायत साधारण मानिसहरूले सहभागिता जनाएका थिए। विभिन्न जात-गोष्ठीका मानिसहरू आ-आफ्नै जातीय भेषभूषामा उपस्थित भएकोले कार्यक्रममा थप रौनकता थपेको थियो। फुलपाती सांस्कृतिक आयोजक समितिको तत्ववाधानमा सम्पन्न कार्यक्रमको शुरुवात यहाँको सोमबारे बजारस्थित बाबरी खेल मैदानबाट भयो। उक्त स्थानबाट दूधेबाट आएका नौमती बाजा टोलीलगायत अन्य पारम्परिक वाद्यवादनका साथ निकालिएको फुलपाती शोभायात्रा सोमबारे बजार परिक्रममा गरेर मालबस्तीसम्म पुगेपछि पुन: कार्यक्रम स्थलमा आएर दोस्रो चरणको कार्यक्रम शुरु भयो। भोटु दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोजमुमो जोनल एक सभापति अजय प्रधान मुख्य अतिथि अनि गोविन्द परियार, सितम मोक्तान, रूद्र कार्की, विशाल परियार, सीबी भुजेल, रविन प्रधान, रतन थापा, सुजन राई, ओमप्रकाश कार्की, ताबरज हैदर अली आदि विशिष्ट अतिथिको उपस्थित थिए। आयोजक समितिका सचिव सुरज प्रधानद्वारा संचालित कार्यक्रममा शक्ति पुजा अनि फुलपाती शोभायात्रा सम्बन्धमा महेश्वर प्रधानले प्रकाश पारे। यस अवसरमा बरबोट बस्तीबाट च्याब्रुङ नृत्य टोली, दालिमकोटबाट मारूणी नृत्य, आस्कालगायत स्थानीय विभिन्न संघ-संस्थाका कलाकारहरूद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो। मुख्य अतिथिको आसनबाट सम्बोधन गर्दै अजय प्रधानले आफ्नो संस्कृतिको जगेरा गर्नुपर्ने बताए। हिज-आज यस्ता सांस्कृतिक कार्यक्रमहरूबाट मानिसहरूको मोह भंग भइरहेकोमा तिनले चिन्ता प्रकट गरे। कार्यक्रम शुरु हुनअघि खडा पुजा अनि लिङ्गे पिङको पुजा पनि गरियो। अर्कोतिर अम्बियोक चियाबारी अनि अम्बियोक बस्तीमा पनि फुलपाती शोभा यात्रा निकालिएको जानकारी प्राप्त भएको छ। अम्बियोक बस्ती एकता मंचको आयोजनामा निकालिएको फुलपाती शोभायात्रा फापरखेतीसम्म पुगेर कार्यक्रम स्थलमा आएर समापन भयो। आयोजक कमिटीका प्रवेश राई, प्रभाकर राई, विकाश राई, संजय राईको अगुवाइमा सम्पन्न कार्यक्रममा प्लास्टिकमुक्त गाउँ बनाउने सोच राखेर कार्यक्रममा कमिटीले केराको पातद्वारा तयार पारिएको टपराहरू प्रयोग गरे। तिनीहरूले यस अवसरमा गाउँलेहरूलाई सक्दो प्लास्टिकको प्रयोग कम गर्न आह्वान पनि गरे।
Camera
Rohan Kulung/ Lenin Rai
Edit
Lenin Rai
8637816394/ 9733161396