विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन ...
दार्जीलिङ, कालेबुङ जिल्लाका 87 वटा चियाबारीहरूमा 20 प्रतिशतको दरमा पुजा बोनस वितरण गरिनुपर्ने मागमा विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन गरियो। बन्द अवधि कालेबुङ जिल्लाका छ वटा चियाबारीमध्ये पाँचवटा चियाबारी क्रमैले अम्बियोक, मिशनहिल, कुमाई, अप्पर फागु, सामाबियोङ चियाबारीहरूमा काम ठप्प भयो। तर दार्जीलिङ टी एसोसिएशनको सदस्य नरहेको यहाँको छोटा फागु चियाबारीका श्रमिक, कर्मचारीहरूले भने सामान्य दिन जस्तै काम गरे। फुलपातीको अघिल्लो दिनसम्म पनि पहाडका 87 वटा चियाबारीहरूमा पुजा बोनसलाई लिएर अत्तोपत्तो नभएपछि आन्दोलनमा उत्रिएका विभिन्न चियाश्रमिक संगठनले संयुक्त रूपमा आज बिहान 4 बजेदेखि साँझ 4 बजेसम्म 12 घण्टे आम हडताल आह्वान गरेको थियो। आपतकालीन सेवाका वाहनबाहेक अन्यलाई छुट नदिने भन्दै डाकिएको आम ह़डताललाई गोरूबथानका विभिन्न पक्षले खुलेर समर्थन जनाए। गोरूबथानमा बन्दको प्रभाव राम्रै देखियो। बजारका दोकान-पाठ बन्द रहे। सडकमा आपतकालीन सेवाका वाहनलगायत केही टुरिष्ट गाडी छोडेर अन्य गाडीहरू गुडेनन्। चियाश्रमिकको अधिकारको निम्ति पहिलो चोटि पहाडका विभिन्न वर्ग, समुदाय, राजनीतिक दल तथा व्यक्तिहरूले यति व्यापक मात्रामा समर्थन जनाए। चियाबारीका श्रमिकविरूद्ध मालिकवर्गको शोषणलाई यसपल्ट सम्पूर्ण पहाडबासीले विरोध जनाउँदै पीडित चियाश्रमिकहरूको पक्षमा उभिएर पहाडका प्रत्येक श्रमिकवर्गको दु:ख सुखमा साथ छौं भन्ने सन्देश दिए। आजको बन्द अनि यसको व्यापक समर्थनले पहाडमा नयाँ सोचको समीकरण देखिएको छ। दशैंको मुखैमा भए पनि स्थानीय व्यापारीहरूले आफ्नो कारोबारभन्दा श्रमिक अधिकार ठूलो सम्झेर बन्द अवधिभरि दोकान खोलेनन्। बन्दको समर्थनमा गोजमुमो 43 नम्बर समष्टि, डीटीडीपीएलयुका पदाधिकारी, कार्यकर्ताहरू सडकमा ओर्लिएका थिए। तिनीहरूले दिनभरि नै सोमबारे बजार, धर्मशाला आदि स्थानमा बसेर बन्द पालन गरे। बन्द अवधि समाप्त भएपछि तिनीहरूले चियाश्रमिकको अधिकारको पक्षमा अनि मालिकवर्गको विरूद्ध नाराबाजी गरे। बन्दलाई समर्थन गरेर सफल बनाइदिएकोमा गोजमुमो जोनल एक सभापति अजय प्रधान, सचिव रविन प्रधान, दुइ सभापति पेमा योञ्जन, डीटीडीपीएलयु कालेबुङ जिल्ला समिति सभापति डीबी छेत्री, सचिव दाताराम शर्माले सबैप्रति आभार प्रकट गरे। चियाबारीका श्रमिकहरूको अधिकारको निम्ति आजको बन्द ऐतिहासिक बनेको मन्तव्य गर्दै नेतृत्वहरूले पीडित जनताको निम्ति डाकिएको बन्द सफल बनेको बताए। बन्दलाई लिएर गोरूबथान पुलिसले सुरक्षा व्यवस्था कठोर गरिएको थियो। बन्द अवधि अप्रिय घटना नहोस् भन्ने ध्येयले विभिन्न स्थानमा पुलिसका जवानहरूलाई तैनाथ गरिएको थियो।
Camera
Rohan Kulung/ Lenin Rai
Edit
Lenin Rai
8637816394/ 9733161396