गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
गोरूबथानवासीको स्वास्थ्य सुरक्षा अनि स्थानीय धावकहरूलाई मंच प्रदान गर्ने उद्देश्य राखेर स्थापना गरिएको गोरूबथान रनर्सले आइतवार विविध कार्यक्रमका साथ आफ्नो चौथो स्थापना दिवस हर्षोल्लासका साथ मनायो। रनर्सको स्थापना दिवसलाई विशेष बनाउनको निम्ति ‘गोरूबथान ग्रिन रन’, “रन फर फरेष्ट रन फर लाइफ” थीम लिएर पर्यावरण सचेतना दौड (5 किमी अनि 15 किमी) आयोजन गरिएको थियो। साई लेबोङका सहनिदेशक केशव प्रधानले फ्ल्याग अफ् गरेर शुरु गरिएको 15 किमीको दौड डामडिमबाट अनि 5 किमीको दौड मिनग्लासबाट शुभारम्भ भयो। सिमसिमे पानीझरीमा पनि ऊर्जाका साथ सचेतना दौडमा गोरूबथानका विभिन्न पेशा, उमेर वर्गका मानिसहरूले खुलेर सहभागिता जनाए। वन विभाग नेउरा रेञ्ज सहयोगी रहेको यस दौडको समापन युद्धवीर उमावि प्रांगनमा भयो। त्यसपछि कार्यक्रमको दोस्रो चरण शुरु गरियो। कमल राणाको अध्यक्षतामा सम्पन्न दोस्रो चरणको कार्यक्रममा मुख्य अतिथिको रूपमा साई लेबोङका सहनिदेशक केशव प्रधान रहेका थिए भने विशिष्ट अतिथिहरूमा नेउरा रेञ्चका रेञ्ज अफिसर विकाश दर्जी, सामसिङ रेञ्जका रेञ्ज अफिसर उमेश दर्नाल, गोजमुमो जोनल एक सभापति अजय प्रधान, सचिव रविन प्रधान, जोनल दुइ सभापति रतन थापा, गोविन्द परियार, बबरू बहन राणा, मालबजार थानाका एसआई के.टी. लेप्चा आदि रहेका थिए। आरजे संजय प्रधान अनि रूस्तम शर्माद्वारा संयुक्त रूपमा संचालन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक कमिटीका ट्रस्टी विशाल परियारले गोरूबथान रनर्स स्थापित गरिनुको उद्देश्य तथा यसले 4 वर्षको अवधिमा हासिल गरेका उपलब्धि अनि कार्यहरूबारे सविस्तार जानकारी गराए। गोरूबथानबासीको स्वास्थ्य अनि गोरूबथानका धावकहरूलाई मंचसितै विभिन्न पक्षबाट सहयोग गर्ने ध्येय राखेर शुरु गरिएको रनर्सले आफ्नो छोटा समयावधिमै धेरै उपलब्धिहरू हासिल गरेको बताए। गोरूबथानको साँघुरो सडकमा दौड लगाउने धावकहरूले गोरूबथान रनर्सकै मंचमार्फत सिलगढी, डुवर्स, खरसाङ, दार्जीलिङ, सिक्किम, कलकत्ता हुँदै देशको आर्थिक राजधानी मुम्बई, पुणेको चौडादार सडकहरूमा पनि दौड लगाइसकेका छन्। गोरूबथान रनर्सकै कारण अहिले गोरूबथानमा दौडको कल्चर नै स्थापना भएको विचार राख्दै परियारले रनर्सलाई यहाँसम्मको यात्रा गराउन सहयोग पुराउने सम्पूर्ण महानुभवहरूप्रति आभार प्रकट गरे। अर्कोतिर गोरूबथान रनर्सले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पनि विभिन्न प्रायोजकहरूको सहयोगमा मदत पुराइरहेको जनाउँदै यस्ता उदार हृदय भएका महानुभवहरूप्रति धन्यवादी बन्दै भविष्यमा थप सहयोगको अपेक्षा राखेको बताए।
योगेश राई बाछानाको स्वागत सम्बोधनबाट शुरु भएको कार्यक्रमलाई मुख्यअतिथिको आसनबाट सम्बोधन गर्दै सहनिदेशक प्रधानले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य देशको योजना लिएर कार्य गरिरहेको अवगत गराउँदै यसै दिशामा गोरूबथान रनर्स पनि अघि बढिरहेकोमा हर्ष प्रकट गरे। रनर्सको हर कार्य सराहनीय तथा अनुकरणीय रहेको बताउँदै गोरूबथानका प्रत्येक व्यक्ति गोरूबथान रनर्सको उद्देश्यसित जोडिनुपर्ने आह्वान पनि गरे। अर्कोतिर विशिष्ट अतिथि तथा नेउरा रेञ्जका अधिकारी विकाश दर्जीले वन-जंगल विनाशले मानिससितै अन्य प्राणीहरूको जीवन पनि संकटमा परिरहेको स्थितिमा गोरूबथान रनर्सको ‘गोरूबथान ग्रिन रन’, “रन फर फरेष्ट रन फर लाइफ” थीममाथि आधारित सचेतना दौडको खुलेर सराहना गरे। रूखपातले मानिसहरूलाई सित्तैमा अक्सिजनसितै अन्य वुनियादी कुराहरू उपलब्ध गराइरहेको बताउँदै तिनले वन-जंगल संरक्षणको निम्ति सबैको आ-आफ्नो पक्षबाट पहल गर्नुपर्ने आह्वान पनि गरे। अर्कोतिर विशिष्ट अतिथि रतन थापाले गोरूबथान रनर्सका सदस्य तथा आर्थिक रूपमा कमजोर विद्यार्थी रोशन मुण्डालाई प्रत्येक महिना दुइ हजार रूपियाँ आर्थिक सहयोग गर्ने धोषणा गर्दै पहिलो महिनाको राशि हस्तान्तरण पनि गरे। त्यसरी नै मुख्य अतिथि प्रधानले धावक राजु सापकोटालाई दौडको निम्ति जुत्ता किन्न 3 हजार रूपियाँ प्रदान गरे। आयोजक पक्षबाट लेनिन राईले धन्यवाद दिएको कार्यक्रममा हालैमा कलकत्तामा सम्पन्न 69 औ राज्य एथलेटिक प्रतियोगितामा सहभागी जनाउने गोरूबथान रनर्सका धावकहरू क्रमैले सागर राई, राजु सापकोटा, सरिता प्रधानसितै तिनीहरूका अभिभाकहरूलाई पनि सम्मान जनाइयो। सम्मान जनाउने क्रममा गोरूबथानको छोरो आरजे संजय प्रधानलाई पनि आयोजक अनि गोरूबथान वेबपक्षबाट सम्मान जनाइयो। यस अवसरमा मानिसको जीवनमा दौड किन आवश्यक छ भन्ने सन्देश बोकेको एकांकी नाटक पनि युद्धवीर विद्यालयका नानीहरूद्वारा प्रस्तुत गरियो। कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने साई लेबोङका सहनिदेशक केशव प्रधान, रेञ्ज अफिसर विकाश दर्जी, समाजसेवी डीबी सार्की, एएचएम युद्धवीर संजय बराइली, पुष्प कुमार रिजाल मिशनहिल, बसन्त गुरुङ युद्धवीर विद्यालय, प्रितम चामलिङ, असिम राई गोरूबथान विद्यालयलगायत सम्पूर्ण सहयोगीहरूलाई आयोजक पक्षबाट ट्रस्टी परियारले आभार प्रकट गरेका छन्। सचेतना दौडमा सहभागी हुने सबै सदस्यहरूलाई दिवसीय सभापति, मुख्य अतिथि, विशिष्ट अतिथिहरूको बाहुलीबाट मेडल प्रदान गरियो।
Camera
Rohan Kulung/ Gourav Kulung
Edit
Lenin Rai Kulung
8637816394/ 9733161396