रंगारंग कार्यक्रमबीच गोरूबथानमा दुइदिने उत्तरबंग उत्सव ...
उत्तर बंगाल विकाश विभाग, पश्चिम बंगाल सरकारको आयोजनमा २० जनवरीदेखि सिलगढीनजिक अठारोखोईबाट राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको हातबाट उद्घाटन भइ शुरु भएको उत्तर बंग उत्सव सोमबारदेखि गोरूबथानमा पनि रंगारंग कार्यक्रमबीच शुरु भयो। गोरूबथान खण्ड विकाश अधिकारी विश्वरंजन चक्रवर्तीको अध्यक्षतामा सम्पन्न पहिलो दिनको कार्यक्रममा कालेबुङ जिल्लापाल श्रीमति आर भिमला मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। त्यसरी नै पूर्व मनोनित सभासद् सतिश थिङ, समाजसेवी दिनेश दियाली, डीआईसीओ दिपक केरकेट्टा, भोटिया सांस्कृतिक विकाश बोर्डका चेयरमेन पाल्देन डी भोटिया, खम्बु राई सांस्कृतिक विकाश बोर्डका चेयरमेन दिपराज राई विशिष्ट अतिथिको रूपमा उपस्थित थिए भने डीडीसीसीबी भाइसचेयरमेन बिनोद छेत्री, पूर्णिमा राई, दिलबहादुर सार्की, सचिन विश्वलगायत विभिन्न बोर्डका प्रतिनिधि, विभिन्न विद्यालय, संघ-संस्थाका प्रतिनिधि आदिको विशेष उपस्थिति रहेको थियो। यहाँको पानडाँडामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यअतिथि भिमलाले मुख्यमन्त्री ममता ब्यानर्जीले कुन उद्देश्यले उत्तर बंग उत्सव शुरु गरिन् त्यसबारे जानकारी गराइन्। यस उत्सवबाट मानिसहरूले मनोरञ्जन प्राप्त गर्दै सरकारी विभिन्न जनकल्याणकारी योजनाहरूबारे पनि जान्न-बुझ्न सक्ने बताउँदै मुख्य अतिथि जिल्लापालले कार्यक्रम उत्सवपूर्वक शुरू भएकोमा हर्ष प्रकट गरिन्। छुट्टीको समयमा पनि सरकारी-गैरसरकारी विद्यालयका नानीहरूसितै शिक्षक-शिक्षिकाहरूले सहभागिता जनाएकोमा आभार प्रकट गर्दै कार्यक्रम व्यवस्थित तथा भव्य गर्न सफल बनेकोमा तिनले खण्ड विकाश अधिकारीसितै आयोजक टोलीलाई बधाई दिइन्। विभिन्न जातीय सांस्कृतिक विकाश बोर्डका कलाकार, विभिन्न विद्यालय, संघ-संस्थाका कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सतिश थिङले मुख्यमन्त्री ममता ब्यानर्जीले विभिन्न जात-भाषा, समुदाय आदिको संस्कृति जगेरा गर्ने तथा विकाश गर्ने उद्देश्य राखेर उत्सव शुरु गरेको विचार राख्दै यस्ता कार्यक्रमबाट मानिसहरूले मनोरञ्जनसितै सरकारको विभिन्न सहुलियतबारे पनि जानकारी लिन सक्ने बताए। राज्य सरकारले राज्यबासीको निम्ति विभिन्न कल्याणकारी योजनाहरू शुरु गरेको अवगत गराउँदै कार्यक्रम स्थलमा ती कतिपय योजनाहरूको विभागीय स्टलहरू पनि राखिएको बताए। ती स्टलहरूमा गएर सरकारको योजनाबारे बुझ्ने तथा लाभार्थीहरूलाई यसको निम्ति सहयोग गर्न थिङले आह्वान पनि जनाए। बीडीओ विश्वरंजन चक्रवर्तीको स्वागत सम्बोधनबाट शुरु भएको कार्यक्रममा लेप्चा, खम्बु, भोटिया, खस, सार्की, कामी, भुजेल, शेर्पा, मगर बोर्डका कलाकार, ईसाई अल्पसंख्याक बोर्ड, आदिवासी कल्याण समिति छोटा फागु, संथाली नृत्य आदिवासी महासंघ, माउण्ड ओलिभ एकाडेमी बाग्राकोट, पायल नृत्यश्री एकाडेमी, कन्सेटो क्लब, रोजमेरी बोर्डिङ स्कूल आदिद्वारा नृत्य प्रस्तुत गरियो भने स्मारिका स्नेह राई, सागर राई, कुनाल तामाङलगायत रोजमेरी अनि मास्कट एकाडेमीद्वारा गीत प्रस्तुत गरियो। युद्धवीर उमावि प्रांगनबाट शुरु भएको र्याली धर्मशाला हुँदै कार्यक्रम स्थलसम्म पुग्यो। जसलाई युद्धवीर, होलिचाइल्डको ब्याण्डले नेतृत्व गरेको थियो। र्यालीमा विभिन्न विद्यालय, संघ-संस्था, एसएचजी, आईसीडीएस आदिले सहभागिता जनाएको थियो। शशिका राईको स्वागत गीत रहेको कार्यक्रममा सीडीपीओ नर्बट लेप्चाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन योगेश राई बाछानाले गरेका थिए। कार्यक्रम स्थलमा राज्य सरकारद्वारा लागु गरिएका विभिन्न योजनाहरूको स्टलहरू राखिएका छन्, जसमा आईसीडीएस, कृषि विभाग, भूमि अनि भूमि सुधार विभाग, एसएचजी, प्राणी सम्पदा विभाग, वन विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग, लेवर विभाग आदिका स्टलहरू रहेका छन्।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396