गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
20 प्रतिशतको दरमा पुजा बोनस वितरण गरिनुपर्ने मागमा आन्दोलित बनेका पहाडका चियाश्रमिकहरूको पक्षमा गोजमुमो उभिएको छ। बुधवार एक पत्रकार सम्मेलन आयोजन गरेर गोजमुमो 43 अनि 44 नम्बर समष्टिले खटिखाने चियाश्रमिकहरूको मागलाई उचित ठहराएको छ। चिसो भात खाएर वर्षभरि परिश्रम गर्ने चियाश्रमिकहरूको पुजा बोनस श्रमिकहरूको अधिकार रहेकोले उक्त अधिकार अविलम्ब मालिक पक्षले भुक्तान गर्नुपर्ने संगठनले माग राखेको छ। वर्षमा एकपल्ट आउने दशैं मुखैमा आइसक्दा पनि पहाडका चियाबारीहरूको पुजा बोनस तय नभएकोले यस गम्भीर विषयमाथि गोजमुमो केन्द्रिय नेतृत्वहरूले पनि पहल गर्नुपर्ने गोजमुमो 43, 44 नम्बर समष्टि कमिटीले अनुरोध गरेको छ। मालिक र प्रबन्धकको भरमा मात्र चियाबारी नचल्ने मन्तव्य गर्दै चियाबारीलाई सुचारू संचालन गराउन श्रमिक तथा कर्मचारीहरूको ठूलो भूमिका रहने तिनीहरूले बताए। तसर्थ, चियाबारीलाई सुचारू संचालन गराउन तथा उत्पादनको गुणस्तरसितै क्षमता बढाउनको निम्ति चियाबारी मालिक अनि प्रबन्धक पक्षले श्रमिक अनि कर्मचारीवर्गलाई खुशी पार्न आवश्यक छ। यसको निम्ति मालिक पक्षले चियाश्रमिकहरूको पुजा बोनसको मागलाई मानिलिनुपर्ने संगठनले सुझाउ राखेको छ। तराई, डुवर्सका चियाबारीहरूमा 18.5 प्रतिशतको दरले पुजा बोनस तय भएर कति चियाबारीहरूमा वितरण पनि भइसकेको बताउँदै पहाडका 87 वटा चियाबारीका श्रमिकहरूको बोनस भने अहिलेसम्म तय नभएकोमा संगठनले चिन्ता प्रकट गरेको छ। चियाबारीका मानिसहरूले दशैं-तिहार पुजा बोनसकै भरमा टार्नुपर्ने भएकोले मालिक पक्षले 20 प्रतिशतको दरमा चियाबारीहरूमा अविलम्ब बोनस वितरण गरिनुपर्ने तिनीहरूको माग छ। पहाडका चियाबारीहरूको पुजा बोनसको बैठकमा मालिक पक्षले विभिन्न बाहानाहरू बनाएर श्रमिक संगठनको माग स्वीकार गर्न नसकिने दिइरहेको तर्कलाई संगठनले विरोध जनायो। दार्जीलिङ चियाको देश अनि विश्व बजारमा जुन मूल्य छ त्यसबाट मालिक पक्षलाई कहिल्यै घाटा नहुने पनि तिनीहरूले मन्तव्य गरे। पुजा आउनसाथ चियाश्रमिकहरू जहिले पनि बोनसको निम्ति आन्दोलित हुनुपर्ने स्थिति रहेकोले तिनीहरूमाथि धेरै अत्याचार भइरहेको पनि संगठनका नेतृत्वहरूले बताए। बोनसको निम्ति अहिले प्रत्येक चियाबारीमा गेट मिटीङ भइरहेको जानकारी गराउँदै संगठनले अन्तिम निर्णय नआएसम्म गणतान्त्रिक तथा शान्तिपूर्ण ढंगले आन्दोलन जारी राख्ने पनि नेतृत्वहरूले सम्बोधनमा बताए। प्रेस भेलालाई 43 नम्बर समष्टि एक सचिव रविन प्रधान, 44 नम्बर समष्टि सभापति हर्कमान छेत्रीले सम्बोधन गरेका थिए। यस अवसरमा जोनल दुइ सभापति पेमा योञ्जन, युमोबाट जोनल एक सभापति दिपक कार्की, राजेश राई, प्रकाश छेत्री आदिको उपस्थिति रहेको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396